काठमाडौं– नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता घुमाउरो पारामा स्वीकार गरेको दाबी गरेका छन्।
नेविसंघ झापा काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनले बताए।
उनले कांग्रेस दृढतापूर्वक सहकारी ठगीको सन्दर्भमा बोलिरहेको र एक जना व्यक्तिको मात्र कुरा नभएको दाबी गरे। उनले भने, ‘कांग्रेस दृढतापूर्वक सहकारी ठगीको सन्दर्भमा पनि बोलिरहेका छौं। प्रश्न एकजना व्यक्तिको कुरामात्रै होइन। संसदमा उभिएर उहाँले पलानोमाथि यो आरोप छ, अर्कोमाथि यो आरोप छ, भनेर बढा घुमाउरो स्वीकारोक्ति। त्यो भनेको अरु-अरुमाथि पनि छ त ममाथि मात्रै किन देख्छौ? भनेको हो।’
उनले कांग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताए।
उनले भने, ‘कांग्रेसको सांसदमाथि, चलनचल्तीको भाषामा दाजुभाउजूमाथि छानबिन गर्न तयार छ। छानबिन गम्भीर हुनुपर्छ। कुनै राजनीतिक दलले आफ्नो पार्टीको सबै छानबिन गर भनेर अरु कसैले भन्न सक्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।