काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारीको रकम अपचलनमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो।
बैठकमा नेताहरुले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण भएको समेत बताएका थिए।
बैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भने सिरोहियामाथि लागेको अभियोग न्यायिक निरुपणको विषय भइसकेको उल्लेख छ।
साथै जुनसुकै ओहदामा रहेका जोसुकै व्यक्तिले कानुन विपरीत गरेको कामको निष्पक्ष र न्याायिक छानबिन हुनुपर्छ भन्नेमा प्रष्ट रहेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ। कानुन सर्वसाधारण र मन्त्रीलाई समान रुपमा लागू हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।