काठमाडौँ- नेपाली कांग्रेसले यही जेठ १३ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘आन्दोलनको कार्यक्रम जेठ ११ गतेका लागि प्रस्तावित भए पनि तयारी नपुग्ने भएपछि १३ गतेका लागि तय गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिको संयुक्त आयोजनामा प्रदर्शनीमार्गमा आन्दोलन गर्ने तय भएको छ,’ कांग्रेस प्रवक्ता महतले भने।
सहकारीमा अर्बौं रुपैयाँ दुरुपयोग भएको भन्दै प्रवक्ता महतले सरकार छानबिन गर्न तयार नभएपछि आफूहरू सडकमा आउन लागेको बताए। उनले भने, ‘गिरिबन्धु टी–स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने छौँ। अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्छौं।’
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म संसद्का काम-कारबाही अघि बढ्न नदिने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।