काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया गिरफ्तारीको जिम्मेवारी लिएका छन्। बुधबार केही सञ्चार गृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताए।
‘हिजो बिहानसम्म पनि म कैलाशजीलाई समाउने बेला भएको छैन, त्यसो नगरौँ भन्नेमा नै थिएँ। तर अदालतले नै पक्राउ गर्न आदेश दिइसकेको अवस्थामा मैले त्यसो नगरौं भन्ने अवस्था भएन। त्यसैले कैलाशजीको पक्राउसम्बन्धी मैले जिम्मेवारी लिनुपर्छ, लिन्छु,’ पत्र बुझ्दै प्रधानमन्त्रीले भने।
पत्र लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका बाह्रखरी डटकमका सम्पादक प्रतीक प्रधानले प्रधानमन्त्री आफ्नो पत्रलाई सकारात्मक रुपमा लिएको बताए। ‘उहाँले पत्रलाई सकारात्मक रुपमा लिएको सुनाउनुभयो। अदालतको आदेश आइसकेपछि त्यसलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको भन्नुभयो’, उनले भने।
३१ सम्पादकहरुले बुधबार प्रधानमन्त्रीलाई लेखेको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्रीले प्रेससँग अनावश्यक झमेला सिर्जना गर्ने वा दूरी बढाउने पक्षमा सरकार नरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।