काठमाडौं– कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन्। उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन्।
सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन्।
‘जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’, सम्पादकहरुको वक्तव्यमा उल्लेख छ, ‘नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।