काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर प्रधानमन्त्री प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरेको टिप्पणी गरेका छन्। उनले सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको प्रतिक्रिया समेत दिएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार साँझ सिरोहियालाई थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमै पुगेर पक्राउ गरेको थियो।
भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत प्रचण्ड नेतृत्वको सरकारले उनलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन्।
‘माओवादी जनयुद्धको बेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं। आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु!’ उनले भनेका छन्।
अंग्रेजीको एउटा भनाइ उधृत गर्दै भट्टराईले जुनसुकै कारणले भए पनि सिरोहियालाई नाटकीय रुपमा पक्राउ गर्नु राम्रो नदेखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।