काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन्।
प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरुको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन्।
उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे। उनले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद बैठक रोक्नुपर्ने कारण नभएको बताए।
उनले संसदभित्रको समस्याहरुलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे। उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे।
उनले भने, ‘संसदको नियमित कामहरु पनि अगाडी नबढेको र संसद स्थगित भएका तमाम घटनाहरु छन्। अन्तिमसम्म त प्रयास गर्नुभयो त सभामुखले। गर्दाखेरी पनि नभएपछि त योभन्दा अर्को विकल्प सभामुखसँग थियो भन्ने मलाई लाग्दैन। कार्यादेशको सम्बन्धमा कार्यदलले छलफल गरिराखेको छ। यसलाई निष्कर्षमा पुर्याउने भनेर सकारात्मक ढंगले छलफल चलिरहेको सन्दर्भमा संसदको सारा कुरा रोक्नुपर्ने कारण के छ ? असहिष्णु बन्नुपर्ने कारण के छ ? काँग्रेसले यस विषयमा साच्नु पर्दैन? त्यसकारण म नेपाली कांग्रेसलाई फेरि पनि आग्रह गर्न चाहन्छु, संसदभित्रका सारा समस्याहरुलाई छलफलबाट समाधान गरौँ। देश र जनतालाई केन्द्रबिन्दुमा राखेर छलफल गरौँ। हामीले उठाएका मुद्दाहरु देश र जनताको हितमा हुनुप¥यो। देश र जनताका मुद्दा हुनुपर्यो। हाम्रो सत्ताका भर्याङ बनाउनका लागि, स्वार्थहरु पुरा गर्नका लागि यस्ता मुद्दाहरु कसैले पनि उठाउनु हुँदैन र त्यस्ता विषयहरुलाई बोकेर हिँड्नु हुँदैन भन्ने मेरो दृढताका साथ आग्रह छ।’
मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि(मंगलबार) बस्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।