काठमाडौँ- सभामुख देवराज घिमिरेले सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने विषयमा छलफल हुनेछ।
आजै बिहान बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुन: विश्वासको मत लिन लागेका हुन्।
जसपा अध्यक्ष यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल आफ्नो दलबाट पार्टी फुटाएको भनिएका ७ सांसदलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन सभामुखलाई पत्र नै लेखेका छन्।
यसअघि आइतबार यादवले प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यादवले प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।