काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताको जस्तो भएको टिप्पणी गरेका छन्।
उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसद्मा दिए लगत्तै पत्रकार सम्मेलन गरी कांग्रेस महामन्त्री थापाले भने, ‘गृहमन्त्रीले फाइल खोलिदिऊँ भनेको सुन्दा म चकित भएँ। गृहमन्त्रीले त धमाधम फाइल खोल्नुपर्ने होइन र?’
गृह मन्त्रालय जस्तो ठूलो जिम्मेवारी लिएको व्यक्तिले दिएको अभिव्यक्ति सुनेर सबै चकित भएको उनको भनाइ थियो। ‘म तेरो फाइल खोलिदिउँ? म तेरो अनुसन्धान गरिदिउँ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु। अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र? गृह मन्त्रीले त धमाधम फाइल खोल्ने हो नि। धमाधम अनुसन्धान गर्ने हो नि। त्यसपछि त्यसलाई गल्ती गरेको छ भने निर्णय गराउने हो नि। फैसला गराउने हो, कार्यान्वयन गराउने हो नि,’ थापाले भने।
महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरीहता प्रदर्शन गरेको जिकिर पनि गरे।
थापाले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद् बैठक पनि चलन नदिने बताए।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्। तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।