काठमाडौं- उपप्रधान तथा गृहमन्त्रीका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको अफर गरेको सार्वजनिक गरेका छन्। संसद्बाट सहकारी प्रकरणबारे स्पष्टिकरण दिँदै उनले यस्तो बताएका हुन्।
उनले संसद्बाट भने, 'सहकारी प्रकरणमा मुछिएको मान्छे गृहमन्त्री नैतिक रुपमा हुन नमिल्ने भए प्रधानमन्त्री कसरी मिल्छ? डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफरको डेट बाँकी छ कि सकियो?'
उनले कांग्रेस सभापति देउवाले त्यसबारे त्यही रोष्ट्रममा उभिएर बोल्न सक्ने चुनौती दिए। उनले थपे, 'उहाँले मान्ने घटालाको थानमा म पनि पुग्ने अवसर पाएको छु। उहाँले बोलिदिए हुन्छ।'
उनले राति प्रधानमन्त्रीको अफर आएको र नस्वीकारेको भोलिपल्ट संसदीय छानविनको माग गरिएको आरोप लगाएका छन्।
उनले मिडियामा आउँदैमा छानविन गर्न नमिल्ने जिकिर गरे। छानविन गर्ने भए यौन दुर्व्यहारको आरोपदेखि कृषि अनुदानको दुरुपयोग आरोपसम्मको गर्नुपर्ने उनले बताए।
उनले संसदीय छानविन समिति बन्दैमा राजीनामा नदिने संकेत गरे। उनले थपे, 'तपाईंको पालामा मन्त्रीले गर्थ्यो होला, हाम्रा पालामा प्रहरीले गर्छ। दोषी देखिए मन्त्रीलाई पनि हतकडी लगाएर लैजाने निर्देशन छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।