काठमाडौँ- सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुले बैठकले यस्तो सहमति गरेको हो।
उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा भने कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ। कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहने बताइएको छ। उक्त कार्यदलले आइतबार कार्यादेशको बारेमा टुंगो लगाउनेछ।
सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए। ‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि बिहानदेखि काम हुन्छ,’ उनले भने।
संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो।
बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए। उक्त बैठकमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक सहभागी भएका थिए।
कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।