काठमाडौं– लामो समयदेखि जारी सदनको अवरोध हटाउनका लागि सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी दल कांग्रेसले छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा केही बेरअघिबाट छलफल सुरु भएको हो।
बैठकमा प्रधानमन्त्रीसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन्।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर संसद अवरोध गरिरहेको छ। नेकपा एमालेका अध्यक्ष ओली र गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति गठन गर्न नहुने पक्षमा छन्।
कांग्रेससँग छलफल हुनुअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेसँग छलफल गरेका थिए। हिजो पनि प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेका थिए। आइतबारसम्म निकास दिने आश्वासन प्रधानमन्त्रीले दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।