काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन्। नेता कोईरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गरे।
उनले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरेका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोईरालाले निर्वाचन प्रणालीकाकारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने कुरामा ठूला दल काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहोर्याए।
उनले भने, ‘प्रचण्डजी म यसो गर्छु, उसो गर्छु त भन्नुहुन्छ। तर उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ। कति चोटी विश्वासको मत लिनु हुन्छ ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ। ३ चोटी त भइसक्यो। र यही तरिकाले सरकार चल्ने हो भने अझ २/४ चोटी सरकार फेरिरहन्छ। र सरकार फेरीरहँदाखेरी पोलिसीहरु चेन्ज भइरहन्छ।’
नेता कोईरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढ्ने हो भने मुलुकलाई बर्बाद हुनबाट कसैले पनि जोगाउन नसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।