काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीति कहालीलाग्दो नभए पनि उतारचढाव भइरहेको बताएका छन्।
‘जनयुद्धका चिठी’ र ‘कालिकोट स्मारिका’ विमोचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारको ध्यान नीति तथा कार्यक्रम पारित गराएर बजेट ल्याउनेतर्फ केन्द्रित रहेको बताए।
उनले भने, ‘अहिलेको परिस्थिति अलि कहालीलाग्दो हो कि भन्ने कुरा आउन खोज्यो। तर, मलाई त्यस्तो लागेको छैन। उतारचढाव त पक्कै छन्। अहिले सरकारको ध्यान नीति कार्यक्रमलाई पारित गर्नु र संविधानको व्यवस्था गर्न बजेटको तयारीमा छ। नीति तथा कार्यक्रममा आएको विषयलाई बजेटमा सम्बोधन गर्न मैले सानो टीम खटाएको छु। भोलिसम्म त्यसलाई टुंग्याउँछौं।’
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिन लागेको जानकारी गराउँदै पाउनेमा विश्वस्त रहेको बताए। उनले जति पटक लिन परे पनि आफूले विश्वासको मत पाउने दाबी गरेका छन्।
उनले भने, ‘मैले ७ गते विश्वासको मत लिने भनेर संसद सचिवालयमा पत्र पठाएको छु, एक जना कांग्रेसको नेताले यसरी नै जाँदा १२-१३ पटक लिनुपर्ने हुन्छ भन्दै हुनुहुन्थ्यो अघिल्लो पटक। अहिले चौथो पटक लिँदैछु, यो पाँचौं, छैटौं हुँदै जाने देखिन्छ। तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ। कहिले बढ्छ कहिले घट्छ।’
यस्तै उनले अहिलेको राजनीतिक गतिरोध भोलिसम्म निकास निस्किने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।