काठमाडौं– सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएका छन्। नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले आफू समिति बनाएर निकास दिन सहमत रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताएका छन्। बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए। रमेश लेखक उनले भने,‘ उहाँ सकारात्मक हुनुहुन्छ। यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ।’
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका थिए।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आइरहेको छ। सत्तापक्षका नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीले फेरि कांग्रेससँग आजै छलफल गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।