वीरगञ्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवं सदस्यहरुहरूको शपथ ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्पर्ने उल्लेख गरे।
‘जेठ १५ गते भित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ। त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नु पर्नेछ। त्यस कारण संसद् चलाउनै पर्छ,’ ओलीले भने, ‘देश ठप्प पार्ने काम स्वीकार्य हुँदैन। नेपाली कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन।’
अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिए। ‘कांग्रेसले एक जना मान्छेलाई आरोप लगाउँछ। ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन। बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ। आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि,’ अध्यक्ष ओलीले भने। उनले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्ने बताए।
उनले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेसले हाउगुजी फैलाउने काम गरिरहेकोप्रति कटाक्ष गरे। ‘कांग्रेसले संसद् विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ। बेइमानी कुरा गरेको छ,’ उनले भने, ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।