विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। २ जना विनाविभागीय मन्त्री मात्र रहेको सरकारमा शुक्रबार ५ मन्त्री र २ राज्यमन्त्री थपेर १० सदस्यीय बनाइएको हो।
एमालेबाट एकराज कार्की, पाँचकर्ण राई र लिलावल्लभ अधिकारी मन्त्रीमा नियुक्त भएका छन्। माओवादी केन्द्रबाट नारायण बुर्जा मगर र राजेन्द्र कार्की मन्त्री बनेका छन्। एमालेबाट सिर्जना राई र माओवादी केन्द्रबाट बन्दना झागड राज्यमन्त्री बनेका छन्।
यसअघि एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेती विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए।
मुख्यमन्त्री कार्कीले कृषि, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगर र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीलाई दिएका छन्।
कार्कीले पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्रीमा, एकराज कार्कीलाई ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा र गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका छन्।
यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त भएका छन्।
मुख्यमन्त्री कार्कीले बन्दना झागरलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र सिर्जना राईलाई मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्रीमा नियुक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।