काठमाडौँ- प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकता सम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
जन्मदर्ता सम्बन्धी कानुन संशोधनका विषयमा महिला, कानुन र विकास मञ्चले बिहीबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले दुवै कानुन संशोधनका लागि समितिले पहल गर्ने बताएका हुन्। आमाका नाममा नागरिकता प्रदान गर्न संविधान र कानुनमा गरिएको व्यवस्था अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्न गृह मन्त्रालयसँग सहमति भएको पनि उनले जानकारी दिए।
सभापति खतिवडाले अन्तर्राष्ट्रिय कानुनले आकाशमाथि उडिरहेको हवाई जहाजमा जन्म भएमा जुन देशमाथि उडिरहेको अवस्थामा जन्म भएको हो सोही देशमा जन्मदर्ता गराउने व्यवस्था गरेकाले ती व्यवस्थाको पालना हुनुपर्नेमा उखतिवडाले जोड दिए।
कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानको धारा ३९ (१) मा कानुनी पहिचानको अधिकारको व्यवस्था गरिएकाले जन्मदर्ताका बारेमा खडा गरिने समस्या संविधान विपरीत हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।