काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभामुख देवराज घिमिरे एउटा नेताको आदेश पालकको भूमिकामा देखिएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभामा भएको घटनाको जिम्मेवारी सभामुख घिमिरेले लिनुपर्ने समेत उनले बताए।
बिहीबार साँझ संघीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी थापाले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद् चल्छ भनेर चेतावनी दिनु र त्यसको भोलिपल्ट संसद्मा त्यही दृश्य देखिनुले उहाँ एउटा नेताको आदेश पालकको भूमिकामा देखिएको प्रष्ट भएको छ।’
सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको थापाले बताए।
‘आज सदन भित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मुल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ। किनकि सदनलाई जबर्जस्ती कार्यसूचीमा प्रवेश गराएर एकप्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।