काठमाडौं- बिहीबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस एमालेका सांसदहरुबीच धकेलाधकेल भएको छ। सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि अवस्था धकेलाधकेलसम्म पुगेको हो।
नेपाली कांग्रेसका सांसदहरु सुरुदेखि नै वेल घेरेर नाराबाजी गरिरहेका थिए। सभामुख घिमिरेले पेलेरै संसद् चलाउने बाटो लिए। उनले गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा बोलाए। लामिछानेको आसन अगाडि नै थिए, कांग्रेस सांसद् धनराज गुरुङ।
उनी गृहमन्त्री लामिछानेतर्फ फर्केर नाराबाजी गरिरहेका थिए। यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली उठेर गृहमन्त्रीलाई बाटो दिन आग्रह गरे।
विरोधमा उत्रिएका कांग्रेस सांसद गुरुङ उत्तेजित भए। ओलीतिरै औंला तेर्स्याएर नाराबाजी गर्न थाले। ओलीतर्फ फर्केर आक्रोश पोख्न थालेपछि एमाले नेताहरु सूर्य थापा अघि बढे। गुरुङ झन् उत्तेजित भए। त्यसपछि ठाकुर गैरेर र प्रमुख सचेतक महेश बर्तौला थपिएपछि अवस्था धकेलाधकेलसम्म पुग्यो।
परिस्थिति असहज हुन थालेपछि सभामुख घिमिरे आत्तिए। उनले हतारहतार गृहमन्त्री लामिछानेलाई यथास्थितिमा आसन ग्रहण गर्न निर्देशन गरे। लगत्तै उनले संसद् शुक्रबारसम्मका लागि स्थगित गरे। दुई पक्षका सांसद हुन लागेको चर्काचर्की यतिमै रोकियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।