काठमाडौं- प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच धकेलाधकेल भएपछि बिहीबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको थियो।
सांसदहरुबीच एकापसमा धकेलाधकेल भएपछि सभामुख घिमिरेले संसद् बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।
यसअघि कांग्रेस सांसदहरूको नाराबाजीबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेका थिए।
बिहीबार संसद् बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले नाराबाजी गर्दै संसद्को ‘बेल’ घेराउ गर्दै सभामुखको आसन घेराउ गर्न पुगेका थिए।
कांग्रेस सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै सभामुखले राष्ट्रपति कार्यालयले पठाएको खाद्य स्वच्छता तथा गुणस्तर कायम सम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र वाचन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।