काठमाडौं- सरकारले सहसचिव लोकनाथ पौडेल राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा पौडेल र प्राविधिकतर्फ मिश्रलाई बढुवा गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा केही दिनअघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम र प्राविधिकतर्फ कृषि तथा वन समूहमा रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो।
प्रशासनतर्फ सचिव बढुवाका लागि पहिलो नम्बरमा पौडेल दोस्रोमा गोविन्दबहादुर कार्की र तेस्रोमा महादेव पन्थको नाम सिफारिस भएको थियो। पौडेल बढुवा सिफारिस समितिबाट यसअघि दुई पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका थिए। बढुवाका लागि सिफारिस भएका सहसचिव पौडेल मधेश प्रदेशमा कामु प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन्।
यस्तै कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवमा राजेन्द्रप्रसाद मिश्र बढुवा भएका छन्। बढुवा समितिको बैठकले मिश्रसँगै सहसचिव सञ्जीवकुमार कर्ण र सबनम शिवाकोटीको नाम पनि सिफारिस गरेको थियो। मिश्र योजना तथा विकास सहायता समन्य महाशाखा प्रमुखको जिम्मेवारीमा छन्।
यसैगरी मन्त्रिपरिषद् बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडालेखनाथ शर्मा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।