सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले जेठ ३ गते बिहीबार विश्वासको मत लिने भएका छन्। उनले बिहीबार बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ।
नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
यसैबीच नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए। तर विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए।
प्रमुख सचेतक पालले भने, ‘केन्द्रबाट अर्को निर्देशन नआउञ्जेलसम्म एमाले प्रदेश सरकारमा सहभागी हुने छैन।’
सत्ता साझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।
एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश सभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख बाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।