काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि—स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन्।
सरकारमा रहँदा ओलीले टि—स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप काँग्रेसले लगाइरहेका बेला उहाँले सो आरोप लगाएका हुन्। बुधवार पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको तत्कालिन सरकारले १९ विगाहा र ५१ विगाहा टि स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने मागसमेत गरे।
उनले कांग्रेसले गरेका बद्मासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि बताए। ओलीले तत्काल संसद बैठक सुचारु गराउन पनि काँग्रेसलाई दबाब दिए। कांग्रेसले गरिमामय संसद र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो।
उनले भने, ‘म भन्न चाहन्छु–५१ विगाहा र १९ विगाहा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानबिन हुनुपर्छ। अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली काँग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछौं। हामीले सुनिरहनुपर्ने, काँग्रेस कराईरहनुपर्ने हुन्छ ? पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराईरहने ? यो चल्दैन। अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं। चाहिने कुरा गरे हुन्छ नि त। एउटा प्रसंगमा कुरा चल्या छ। त्यो प्रसंगमा कुरा गरे हुन्छ। यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ। के तरिका हो यो? र दुनियाँलाई थाहा छ। म धेरै भन्न चाहन्न। नेपाली काँग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन। संसद सुचारु गराउनु पर्छ। हामी सुचारु गर्ने पक्षमा छौं। कहीँकतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला। अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने? कांग्रेसले नै फैसला पनि ठोकि हाल्ने? प्रमाणित भ्रष्टाचारी ल्याएर, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाइ थाहा छ। त्यति भन्छु।’
अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।