काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक मंगलबारको बैठक स्थगित भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै कांग्रेसका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि ‘धन्यवाद प्रस्ताव’ पारित गर्नका लागि बैठक बसेको थियो। तर बैठक सुरु हनासाथ कांग्रेसका सांसदहरूले दौडिएर सभामुखको आसन घेर्दै नाराबाजी गरेका थिए।
गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ।
बिहान बसेको कांगष्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन दिने र त्यसपछि संसदका अन्य कामकारबाही अवरोध गर्ने निर्णय गरेको थियो।
आगामी बैठक यही जेठ ३ गते बस्ने सभामुख घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।