गल्कोट– खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययन अनुमति दिएपछि स्थानीय उत्साहित भएका छन्।
एक सय वर्षदेखि बन्द अवस्थामा रहेको भनिएको तामाखानी अध्ययनका लागि सरकारले अनुमति दिएपछि सो क्षेत्रका स्थानीय पुनः खानी सञ्चालनमा आउने आशासहित उत्साहित भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए।
‘तामाखानी उत्खनन्का लागि पटकपटक आवाज उठाइँदै आएका थियौं। म नेतृत्वमा आएपछि पनि पटकपटक यो विषयमा कुरा भएको थियो। ढिलै भए पनि अध्ययन अनुमति दिइएको पत्रप्राप्त भएपछि हामी उत्साहित भएका छौं’, अध्यक्ष बुढाले भने।
खानी तथा भूगर्भ विभागले श्रेया जलान समूहलाई अध्ययनका लागि अनुमति प्रदान गरिएको जानकारी आएको उनले बताए।
विभागका जियोलोजिष्ट रवि आचार्यले पनि तमानखोला गाउँपालिकाको ११ वर्ग किलोमिटर क्षेत्रफलमा तामाखानी अध्ययनका लागि आगामी २०८४ असोज १४ गतेसम्म चार वर्षका लागि अध्ययन अनुमति दिइएको बताए।
तामाखानीको अध्ययन प्रतिवेदनका आधारमा थप रणनीतिसहित सरकारले आवश्यक काम गर्ने पनि उनले बताए।
तामाखानीको अध्ययन गर्नका लागि अनुमति पाएपछि स्वीडेन र अस्ट्रेलियन भूगर्भविद्सहितको टोलीले अध्ययनकार्य अगाडि बढाउने तयारी भइरहेको श्रेया जलानका प्रतिनिधि भूगर्भविद् बलराम कार्कीले बताए।
‘तमानखोलामा रहेको तामाको अवस्था अध्ययनपछि थाहा हुनेछ। त्यसको गुलस्तर, उत्खनन् गर्न सकिने समय, उत्खनन् गर्दा आउने तामाको बजार मूल्यलगायत विषयमा हामीस्ले विज्ञसहित गहन अध्ययन गर्नेछौं। अध्ययनका आधारमा थप रणनीति बनाउन पहल गरिने छ’ कार्कीले भने।
तमानखोला गाउँपालिका–६ नर्जाखानीसहित तमानखोला क्षेत्रमा एक सय वर्षअघिसम्म तामाखानी उत्खनन् हुनेगरेको स्थानीयको दावी छ। अहिले पनि तमानखोलाको नर्जाखानी, भित्रिवन र पात्लेगाउँनजिक तामाखानीका सुरुङ र अवशेष बाँकी छन्।
रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गरेकामा तत्कालीन सरकारले कर उठाउने थालेपछि विसं १९८१ देखि तामा निकाल्न छोडेका जानकारहरूको भनाइ छ। त्यसयता तामाखानीको अध्ययनका गाउँलेहरूले पटक–पटक प्रयास गर्दैआएका थिए।
‘तामाखानी छ भन्ने विषय यहाँको भौगोलिक अवस्थाबाट पनि प्रष्ट हुन्छ। अहिले पनि त्यो सम्भावना कायमै छ तर कति तामा छ, कति वर्षसम्म उत्खनन् गर्न सकिन्छ भन्नेबारेमा अध्ययनको आवश्यकता हो’, गाउँपालिका अध्यक्ष बुढा भन्छन्, ‘पहिलोपटक अध्ययनका लागि चार वर्षलाई अनुमति दिएको पत्रप्राप्त भएपछि हामी निकै उत्साहित भएका छौं। ढिलै भए पनि तामाखानीबाटै तमानखोलालाई समृद्धि बनाउने हाम्रो सपना पूरा हुने आशा जागेको छ।’
नर्जाखानीमा तामा खनेको एक किलोमिटर भन्दा लामा सुरुङ रहेको छन्। तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउनसके स्थानीयस्तरमा रोजगारी सिर्जनाका साथै राज्यले आर्थिक लाभ लिन सक्ने स्थानीयको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।