सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ मान्द्रास्थित थाङ्सिङबोलेमा छ्योर्तेनको उद्घाटन भएको छ । हिमाली बस्ती थाङ्सिङबोलेमा तीन छ्योर्तेन तथा एक पाहुना घरको बौद्धधर्म अनुसार धर्मगुरुबाट उद्घाटन गरिएको हो।
थाङ्सिङ्बोलेका समुदाय मिलेर निर्माण गरिएको ज्याङ छ्युप छ्योर्तेन सिन्धुपाल्चोकको नमुनाको रूपमा रहेको छ। छ्योर्तेन वरिपरि बगैंचा तथा पाहुना घरसमेत निर्माण गरिएको छ ।
६ रोपनी जग्गामा ज्याङ छ्युप छ्युर्तेन तथा पाहुना घर निर्माणसँगै यस भेगका स्थानीयले बिबाह ब्रतबन्ध, छ्याओर, घेवाजस्ता कार्यक्रम गर्न ठाउँ खोजिरहन नपर्ने भएको छ । बिहीवार ज्याङ छ्युप छ्योर्तेनमा लगाइएको रब्ने पुजा तथा उद्घाटन कार्यक्रममा झन्डै २५ सय जना उपस्थित भएका थिए ।
उद्घाटन समारोहमा पूर्वमन्त्री एवम् सांसद मोहनबहादुर बस्नेतले समुदाय मिलेर निर्माण गरिएको यो छ्योर्तेनले राज्यलाई चुनौती दिएको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद माधव सापकोटाले आगामी दिनमा यहाँ धार्मिक कार्यहरु भइरहोस भन्दै शुभकामना दिए ।
छ्योर्तेन निर्माणको पहल गरेका रमेश शेर्पाले समुदाय मिलेर निर्माण सम्पन्न भएको ज्याङ छ्युप छ्योर्तेन सबैका लागि सहज हुने बताए । यस ठाउँमा छ्योर्तेन बन्नु भन्दा पहिला ससाना बालबालिकालाई देवता चढ्ने इतिहास भएकाले अहिले आफूहरुले सकेको समयमा छ्योर्तेन बनाएको उनको भनाइ छ। धार्मिक हिसाबले इतिहास बोकेको थाङ्सिङबोलेमा काटमार गरिदैन भने यस ठाउँमा भैंसी, राँगा पाल्न नहुने इतिहास रहेको ज्याङ छ्युप छ्योर्तेनका कोषध्याक्ष हिरामाय शेर्पाको भनाइ छ।
छ्योर्तेन निर्माणका थाङ्सिङ्बोका निमा दोर्जे शेर्पा, संकलाल शेर्पा र छेवा शेर्पाले जग्गा दान गरेका हुन। बाह्रबिसे नगरपालिकाले तारबारका लागि १७ लाख रुपैयाँ सहयोग गर्ने बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।