काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन्। उपाधि दाबेदार मानिएका यी दुवै टोलीले १-१ को बराबरी खेल्दै अंक बाँडे।
सिटीले पहिलोमा हाफमा उत्कृष्ट प्रर्दशन गरेको थियो। घरेलु टोली लिभरपुलमाथि दबाब राख्दै सिटीले २३औं मिनेटमा अग्रता बनाएको थियो। मिडफिल्डर केभिन डी–बु्रयनाको कर्नर पासमा अर्का मिडफिल्डर स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा सिटीले १-० को अग्रता बनाएको थियो। तर दोस्रो हाफमा भने घरेलु टोली लिभरपुल सिटीमाथि हाबी भयो। ५०औं मिनेटमा सिटीका गोलरक्षक इडर्सनले डी–बक्स भित्र लिभरपुलका उग्रुवेन फरवार्ड डार्बिन नुनेजलाई खराब ट्याकल गर्दै लडाए। नुनेजलाई लडाएपछि पाएको पेनाल्टीमा अर्जेन्टाइन मिडफिल्डर म्याक–एलिस्टर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
नुनेजमाथि ट्याकल गर्ने क्रममै सिटीका गोलरक्षक घाइते भएर ५६औं मिनेटमा सब्सिच्युट भएका थिए। उनलाई अर्का गोलरक्षक स्टेफन ओर्टेगाले सब्सिच्युट गरेका थिए।
दोस्रो हाफमा लिभरपुल सिटीमाथि हाबी भयो भने सिटी रक्षात्मक देखिएको थियो। ५३ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै लिभरपुलले सिटीको पोस्टमा १९ पटक आक्रमण गरेको थियो। सिटीले भने जम्मा १० पटकमात्रै पोस्ट चार्ज गरेको थियो। जसमा दुवै पक्षबाट ६ वटा सट मात्रै अन टार्गेट थिए।
उपाधि दाबेदार मानिएका यी दुवै टोली बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि होड थप रोमान्चक बनेको छ। उपाधि होडमा आर्सनल, लिभरपुल र सिटी देखिएका छन्। २८ खेलबाट ६४ अंकसहित आर्सनल शीर्ष स्थानमा छ भने लिभरपुल दोस्रो स्थानमा छ। समान अंक भए पनि गोल अन्तरले लिभपुर पछि परेको छ। यता २८ खेलबाटै ६३ अंकसहित सिटी तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।