काठमाडौं– चालू आर्थिक वर्ष (२०८०/०८१) को माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत झरेको जनाएको छ। आइतबार नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिती प्रस्तुत गर्दै गत वर्षको तुलनामा २.२७ प्रतिशतले मुद्रास्फीति घटेको जनाएको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति (मूल्यवृद्धि) ६.५१ प्रतिशत र सेवा समूह (गैर–खाद्य) को मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको छ।
२०८० माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो। २०८० माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.८२ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ९.६७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.०५ प्रतिशत, ०.७२ प्रतिशत र १.७९ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.३२ प्रतिशतले घटेको छ।
चालू वर्षको माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ५.५६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.२७ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १.०५ प्रतिशत र ६.९२ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।