काठमाडौं– साफ यू–१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ।
फाइनल बोक्ने सम्भावनासहित मैदान उत्रिएको नेपालले फराकिलो हार बेहोरेको हो। एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा ६ गोल खाएको नेपाल दोस्रो हाफमा ४ गोल खायो। यससँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे। एक गोल आत्मघाती गोल भयो।
प्रतियोगिताको फाइनलमा भारत र बंगलादेश खेल्ने पनि पक्का भएको छ। लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ। पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो।
भारतले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो। प्रतियोगिताको फाइनल आइतबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।