काठमाडाै- वाफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेको छ।
साउदी अरेबियाबाट आज (शुक्रबार) स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन् ।
साउदी जानु अघि नै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाेराम लामाले महिला टोलीलाई १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । लामाले त्यसमा २५ हजार रुपैयाँ थप्ने घोषणा गरेका थिए।
नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको फाइनल खेलेको थियो।
नेपाल जोर्डन सँग पेनाल्टी सुट आउटमा ५-३ ले पराजित भएको थियो । प्रतिस्पर्धात्मक फाइनल निर्धारित समय २-२ को बराबरी सकिएको थियो। फाइनल अघिसम्म नेपाली टोली अपराजित थियो ।
फाइनल सम्मको खेलमा १७ गोल गरेको थियो भने ४ गोल खाएको थियो। सावित्रा भण्डारी साम्बा ९ गोल सहित वाफको सर्वाधिक गोलकर्ता बनेकी छन्।
आठौं संस्करणमा जोर्डन छैटौं पटक च्याम्पियन बनेको थियो। नेपाल भने त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो। सन् २०१० पछि साफ च्याम्पियनसिप, साग, हिरो कप, नादेज्दा कप र वाफमा गरि ११ वटा फाइनल खेल्दा नेपाली टोली च्याम्पियन बन्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।