जुम्ला– जुम्ला सदरमुकाम खलङ्गा बजारमा सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली जुम्लाले जितेको छ। आज भएको फाइनल खेलमा जुम्लाले हुम्लालाई ४–० गोलअन्तरले पराजित गरेको हो।
खेलको निर्धारित समयमा जुम्लाका लागि रुविन भण्डारीले ह्याट्रिक गरे। यस्तै चौथो गोल महेन्द्र शाहीले पेनाल्टी सुटआउटमा गरेका थिए। हुम्लाले उपविजेतामै चित्त बुझायो। प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता यही फागुन १५ गतेदेखि सञ्चालन भएको थियो।
जुम्लामा पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल सङ्घका महासचिव दीपेन्द्रविक्रम हमालले जानकारी दिए।
प्रतियोगितामा कर्णाली प्रदेशका १० मध्ये ६ जिल्लाले सहभागिता जनाएका थिए। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग, प्रदेश फुटबल सङ्घ र जिल्ला खेलकुद विकास समितिको समन्वय तथा जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो।
आगामी २०८१ मङ्सिरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।