काठमाडाै- पेनाल्टी सुटआउटमा चुक्दा नेपाल वाफको उपविजेतामै सीमित भएको छ। पेनाल्टी सुटआउटमा नेपाललाई ५–३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन वाफ महिला च्याम्पियनसिपको उपाधि छैठौं पटक जितेको हो।
बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनटको खेल दुुई–दुुई गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको हो। जोर्डनका आयह अल मजाली, मास्या जेबाराह , नोउर जकास, सारह अबु सबाह र रोजबहान फ्राइजले पेनाल्टीमा गोल गरिन्।
नेपालका गीता राई, दीपा शाही, हीराकुमारी भुजेलले गोल गरेका थिए। नेपालकी अमृता जैसीको प्रहार भने जोर्डनका गोलकिपरले विफल बनाएकी थिइन्। निर्धारित समयको खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन्।
२९औँ मिनेटमा रेखा पौडेलको पासलाई सदुपयोग गर्दै सविताले १८ यार्ड बक्स बाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन्। पहिलो हाफमा १–० को अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा त्यसलाई कायम राख्न सकेन। ७४औँ मिनेटमा जोर्डनकी लाना फेरसले बराबरी गोल गरेकी थिइन्।
८९औँ मिनेटमा साराह अबु सबाहले गोल गर्दै जोर्डनलाई २–१ को अग्रतामा राखेकी थिइन्। तर इन्जुरी समयमा पाएको पेनाल्टीलाई गीता रानाले सदुपयोग गर्दै नेपाललाई २–२ को बराबरीमा फर्काएकी थिइन्।
प्रतियोगितामा पाहुना टिमका रूपमा सहभागिता जनाएको नेपालले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा अन्तिम–४ मा लेबनानलाई हराएको थियो। प्रतियोगिताकै सबैभन्दा सफल टिम जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
साविक बिजेता समेत रहेको जोर्डनले योसहित छैटौँपटक प्रतियोगिताको उपाधि जितेको छ। नेपाली महिला टिमले खेलेको यो ११औँ फाइनल हो। नेपालले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न भने सकेको छैन।
नेपालले यसअघि पाँच पटक साफ महिला च्याम्पियनसिप, तीन पटक साग गेम्सअन्तर्गतको महिला फुटबल, एकपटक हिरो कप र एकपटक नादेज्दा कपको फाइनल खेले पनि सबैमा हार बेहोरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।