काठमाडौं- नेपाल पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा लेवनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि सावित्रा भण्डारी र प्रीति राईले एक-एक गोल गरे।
खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत लेबनानले अग्रता बनाएको थियो। डिबक्स अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सिधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएको थियो।
खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएकी थिइन्। रोमाञ्चक बनेको खेलमा प्रीतिले खेलको अतिरिक्त समयमा सुन्दर गोल गर्दै नेपाललाई २–१ जित दिलाइन्।
नेपालले अतिरिक्त समयमा कर्नर किक पाएको थियो। विमला चौधरीले प्रहार गरेको कर्नर क्लियर भएपछि बक्स बाहिर पुगेको थियो। प्रितिले बक्स बाहिरबाटै प्रहार गरेको बल गोलमा परिणत भयो।
अब फाइनलमा नेपालले जोर्डनको सामना गर्नेछ। यसअघिको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै जोर्डन फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको फाइनल खेल भोलि बिहीबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।