काठमाडौं- पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलमा मंगलबार नेपालले लेवनानको सामना गर्दैछ। खेल साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा साँझ १०:४५ मा सुरु हुनेछ।
समूह बीमा रहेको नेपालले इराकलाई ५-०, सिरियालाई ४-१ र प्यालेस्टाइनलाई ३-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। लेवनान तुलनात्मक रुपमा बलियो टोलीको रुपमा लिइएको छ।
आज पहिलो सेमिफाइनल खेल भने जोर्डन र प्यालेस्टाइनबीच हुँदैछ। यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे हुनेछ। जोर्डन समूह ‘ए’ मा तीनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह ‘बी’ मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो।
यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छिन्। प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।