काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट आउने दबाबले अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्। सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु सडकबाट नै चल्ने अवस्था आएको गुनासो गरे। नेपाली बैंकहरुमा कुनै पनि समस्यामा नभएको दाबी गर्दै त्यस्ता हल्ला र गलत प्रचारको पछि नलाग्न सबैलाई उनले आग्रह गरे। उनले बैंकहरू सबल अवस्थामा रहेको भन्दै अहिलेको अवस्थामा कुनै पनि बैंक डुब्ने अवस्था नभएको दाबी गरे।
उनले डक आन्दोलनमार्फत् बैंकको ऋण नतिर्ने भन्ने दबाब भइरहेको बताए। बैंक तथा वित्तीय उद्योगलाई अफ्ठ्यारो अवस्थामा सरकारबाट पाउनुपर्ने सहयोग र समर्थन पाउन नसकेको दाबी गरे। उनले बैंकहरु सबै डुब्न थाले, खतम हुन थाले भन्ने हल्लाले भए पनि बैंकहरु पारदर्शी र सवल रहेको बताए। उनले विश्वका विकसित मुलुककोसमेत अवस्था हेर्दा मुख्य सूचकहरुमा बैंकको कर्जाको ब्याजदर घट्न खोजेकाले नेपालमा पनि कर्जामा ब्याजदर कम हुँदै जाने अवस्था आउने बताए।
पछिल्लो समय बैंकहरुको खराब कर्जा बढे पनि बैंकहरु धान्न सक्ने अवस्थामा रहेको उनको भनाइ थियो। उनले समग्रमा ३.४० प्रतिशतले खराब कर्जा बढेको बताए। उनले नेट एनपीए १.४० हुँदा बाहिरबाट हेर्दा खराब कर्जाको अफ्ठ्यारो अवस्था देखिए पनि धेरै ठूलो अफ्ठ्यारो नपरेको उल्लेख गरे। अफ्ठ्यारो अवस्था भए पनि बचतकर्तालाई सुरक्षित गर्नेगरी बैंकहरुले काम गरिरहेका उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।