काठमाडौं- सावित्रा भण्डारी ‘साम्बा’ ले ५ गोल गरेसँगै नेपालले वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा इराक विरुद्ध फराकिलो जित हात पारेको छ।
पहिलो हाफमा चार गरी कुल ५ गोल गरेसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा ४४ खेलमा ५० गोल पुर्याएकी छन्।
खेलको सुरुवाती समयमा खेलमा आफ्नो पकड बनाउन नसकेको नेपालले त्यसपछि भने लगातार आक्रमण बुन्यो। इराकले बल राख्ने बित्तिकै हाइ-प्रेस गर्दै नेपालले इराकलाई सहजै बल राख्न दिएको थिएन।
सातौं मिनेटमा नेपाल गोल गर्नको निकै नजिक पुगेर चुक्यो। साम्बाको क्रसमा रेखा पौडेलले बक्स भित्रबाट गरेको प्रहार पोस्टको बाहिरपट्टि लागेर बाहिरियो।
नवौं मिनेटमा रेखाको पासमा अमिषा कार्कीको प्रहार ब्लक हुन पुग्यो। ११औं मिनेटमा साम्बाको फ्रि-किक प्रहार पोस्टमाथिबाट बाहिरियो।
१४औं मिनेटमा साम्बाले नेपाललाई अग्रता दिलाइन्। रेखा पौडेलले आफ्नै हाफबाट खेलेको पासमा आफ्नो तिव्र गतिको प्रयोग गर्दै उनले सुन्दर फिनिसका साथ नेपाललाई खेलमा अग्रता दिलाएकी हुन्।
८०औं मिनेटमा साम्बाले पाँचौं गोल गरिन्। प्रीतिको थ्रु-पासमा साम्बाले इराकी गोलकिपरलाई बिट गर्दै खेलमा नेपालको र व्यक्तिगत पाँचौं गोल गरिन्।
नेपालको समूहमा २ खेलमा ६ अंक भएको छ। नेपालले समूह चरणको पहिलो खेलमा सिरिया माथि ४-१ को सानदार जित हात पारेको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइन विरुद्ध शनिबार खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।