काठमाडौं– एएफसी एसियन कप फुटबलको आयोजक राष्ट्र कतार प्रतियोगिताको फाइनल पुगेको छ। सेमिफाइनलको रोमाञ्चक खेलमा इरानलाई ३–२ गोलले हराउँदै कतार एसियन कप २०२३ को फाइनल पुगेको हो।
उपाधिका लागि कतारले अब फाइनलमा जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो सेमिफाइनलमा कोरियाविरुद्ध ऐतिहासिक जित निकाल्दै जोर्डनले फाइनलमा स्थान बनाएको थियो।
कतारलाई फाइनल पुर्याउन अलमोज अलिले ८२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
खेलको चौथो मिनेटमै सरदार अजमोनको गोलबाट इरानले अग्रता लिएको थियो। १७औं मिनेटमा कतारका जेसिम गाबेर अब्दुल सालमले बराबरी गोल गोल गरे।
अक्रम अफिफ ४३औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै कतार २–१ ले अगाडि बढेको थियो। ५१औं मिनेटमा इरानले पाएको पेनाल्टीको अवसरलाई अलिरेजा जाहानबाक्सले गोलमा परिणत गरेपछि खेल बराबरीमा आयो।
त्यसपछि ८२ औं मिनेटमा अलमोज अलिले गोल गरेपछि कतार ३–२ को स्थितिमा पुग्यो। १३ मिनेट थपिएको इन्ज्युरी समयमा पनि गोल नभएपछि कतारले ३–२ को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।