विराटनगर– झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित आइतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथ स्थित होटल सञ्चालन गर्दै आएकी ४० बर्षीया कविता भुजेल र तेह्रथुमको म्याङलुङ नगरपालिका -७ जिरिखिम्ति घर भई हाल सोही होटलमा बस्ने ३७ बर्षीय मौसम खड्कालाई ८ ग्राम ९४ मिलिग्राम लागूऔषध खैरो हिरोइन र नगद १६ हजारसहित नियन्त्रणमा लिएको थियो।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको कटहरी गाउँपालिका-१ स्थित रंगेली–विराटनगर सडक खण्डबाट ९ किलो २०० ग्राम लागुऔषध गाँजासहित धनकुटाको सागुरीगढी गाउँपालिका-६ का ४१ वर्षीय अमर राईलाई नियन्त्रणमा लिएको थियो।
यसका साथै लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आइतबार साँझ संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका-९ महेन्द्र चौकका २१ वर्षीय प्रणव चौहानको साथबाट १ ग्राम २ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी चौहानलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।