काठमाडौं– संकटा क्लबले जारी एन्फा यू–१६ युथ लिग फुटबलमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटाले एपिएफमाथि ७–१ को जित निकालेको हो। कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो।
यो जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ। संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अंकसहित दोस्रो स्थानमा छ।
खेलको ११औं मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो। त्यसपछि २६ औं मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औं मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे।
५३औं मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए। तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो। तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहोर्यो। संकटाका लागि छैटौं गोल अरुण श्रेष्ठले ८१औं मिनेटमा गरे।
कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यससँगै संकटाले जारी लिगमा छैटौं जित निकाल्यो। आठौं खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।