काठमाडौं– प्रतिनिधि सभाको २७५ सिटमध्ये ३२ सिटसहित तेस्रो ठूलो दल रहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा भने सबैभन्दा ठूलो दल बन्ने भएको छ। राष्ट्रिय सभा निर्वाचनको मत परिणाम धेरै हदसम्म पहिल्यै आकलन गर्न सकिने भएकाले आगामी फागुनपछि ऊ सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको हो।
राष्ट्रिय सभाका २० सदस्यको पदावधि यही फागुन २० पछि सकिँदैछ। २० मध्ये १९ स्थानका लागि माघ ११ मा निर्वाचन हुँदैछ। अर्को एक व्यक्ति भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।
फागुन २० गते पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ जना छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुन लागेको हो।
१९ स्थानका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूले साझा उम्मेदवार तयार गरेका छन्। त्यसका लागि उनीहरूले संख्यात्मक रुपमा भागबण्डा गरेका छन्। जसअनुसार, कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ पदका लागि उम्मेदवारी दिँदैछन्। सोमबार उम्मेदवारी दिने कार्यतालिका छ।
राष्ट्रिय सभा निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरू, सोही प्रदेशमा पर्ने स्थानीय तहहरूका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मत दिनेछन्। प्रदेश सभा सदस्यसँग मतभार ५३ र स्थानीय तहहरूका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसँग मतभार १९ छ। उल्लेखित मतदाताको संख्या र मतभार केलाउँला सातै प्रदेशमा सत्ता गठबन्धनका दलहरूसँग सहज बहुमत छ। ठूलो संख्यामा जनप्रतिनिधिहरूले गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात नगरेमा गठबन्धनकै उम्मेदवारहरूले जित्ने निश्चित छ।
अहिले राष्ट्रिय सभामा एमाले सबैभन्दा ठूलो दल छ। एमालेसँग अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १८ सिट छ। १८ सिटमा उसकै तर्फबाट राष्ट्रपतिले मनोनित गरेकी विमला राई पौड्याललाई पनि जोडिएको छ। त्यस्तै, माओवादी केन्द्रसँग उपाध्यक्ष उर्मिला अर्यालसहित १६ सिट छ। यसमा उसकै तर्फबाट राष्ट्रपतिले मनोनित गरेका नारायण प्रसाद दाहाललाई पनि जोडिएको छ।
त्यस्तै, राष्ट्रिय सभामा कांग्रेससँग १०, एकीकृत समाजवादीसँग ८, जसपासँग ३, लोसपासँग १, राजमोसँग १ सिट छन्। राष्ट्रिय स्वतन्त्र उम्मेदवार १ जना (खिमलाल देवकोटा) छन्। राष्ट्रपतिबाट मनोनित बामदेव गौतम भने आफ्नै अभियानमा छन्। तत्कालीन नेकपाको सरकारबाट सिफारिस भएर मनोनित भए पनि उनी एमाले वा माओवादी केन्द्रसँग जोडिएका छैनन्।
माओवादी केन्द्रका १५ मध्ये ३ सांसदको पदावधि फागुनपछि सकिँदैछन्। तर माघको निर्वाचनपछि ६ जना थपिनेछन्। राष्ट्रपतिबाट मनोनित भएका एक सांसद (नारायणप्रसाद दाहाल) पनि माओवादी केन्द्रसँगै भएकाले फागुनपछि यो पार्टीको सांसद संख्या १९ पुग्नेछ।
त्यस्तै, कांग्रेसका १० मध्ये ४ सांसदको पदावधि सकिनेछ। तर निर्वाचनबाट उसलाई १० सिट प्राप्त हुने देखिन्छ। त्यसो भएमा सो पार्टीको सांसद संख्या १६ पुग्नेछ।
एकीकृत समाजवादी र जसपाका क्रमशः २ र १ सांसदको पदावधि सकिँदैछ। तर निर्वाचनबाट उनीहरूलाई सोही संख्यामा सिट प्राप्त हुने भएकाले उनीहरूको कुल संख्यामा परिवर्तन आउने छैन। ती दलको आकार क्रमशः ८ र ३ हुनेछ।
अहिले १८ सिट रहेको एमालेका ९ सांसदको पदावधि सकिँदैछ। तर निर्वाचनबाट उसले कुनै सिट थप्ने देखिँदैन। जसले गर्दा आगामी फागुनपछि राष्ट्रिय सभामा उसको सिट संख्या ९ मात्रै हुनेछ।
लोसपाका १ सांसद यथावत् रहनेछन्। राजमोका १ सांसदको पदावधि पनि यथावत् रहनेछ। तर राष्ट्रपतिबाट मनोनित १ स्थानमा राजमोकी दुर्गा पौडेललाई नियुक्त गर्ने गठबन्धनमा सहमति भइसकेकाले पछि यो पार्टीसँग राष्ट्रिय सभामा २ सांसद हुनेछन्।
राष्ट्रपतिबाट मनोनित बामदेव गौतम पनि यथावत् रहनेछन्।
यसरी केही महिनापछि राष्ट्रिय सभामा माओवादी केन्द्रको १९ (राष्ट्रपतिबाट मनोनित १ सहित), कांग्रेसको १६, एमालेको ९, एकीकृत समाजवादीको ८, जसपाको ३, राजमोको २ (राष्ट्रपतिबाट मनोनित १ सहित), लोसपाको १ र राष्ट्रपतिबाट मनोनित बामदेव गौतम सांसद हुनेछन्।
राष्ट्रिय सभामा निरन्तर शक्ति गुमाउने दल भने नेकपा एमाले भएको छ। २०७४ मा पहिलोपटक निर्वाचन हुँदा उसले २७ सिट जितेको थियो। राष्ट्रपतिबाट मनोनित २ जना सहित सो पार्टीको सांसद संख्या २९ पुगेको थियो। त्यतिबेला कांग्रेसले १३ सिट जितेको थियो। माओवादी केन्द्रले १२ सिट जितेको थियो। तर राष्ट्रपतिबाट मनोनित १ जना माओवादीका तर्फबाट परेकाले सो पार्टीसँग पनि १३ सिट नै भएको थियो। त्यतिबेला संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग २/२ सिट थियो।
२०७६ को निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन गरिसकेका थिए। सोही वर्ष फागुन २० देखि १९ (राष्ट्रपतिबाट मनोनित एक सहित) सांसदको पदावधि सकिँदै थियो। माघ ९ गते १८ स्थानका लागि निर्वाचन भएको थियो।
नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ सांसदको प्रतिस्थापनका लागि भएको निर्वाचनमा नेकपाले १६ र राजपाले २ स्थानमा जितेका थिए। त्यसपछि राष्ट्रिय सभामा नेकपा एक्लैको ५० सिट पुगेको थियो। त्यस्तै, कांग्रेसको ६, राजपाको २ र समाजवादीको १ सिट कायम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।