काठमाडौं– सात गोलको वर्षा भएको खेलमा जिरोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ। स्पेनिस ला–लिगा अन्तर्गत बुधबार राति भएको खेलमा जिरोनाले एथ्लेटिको मड्रिडमाथि ४–३ को जित निकाल्यो।
खेलको दोस्रो मिनेटमै गोल गर्दै जिरोनाले अग्रता बनाएको थियो। भेल्री फर्नान्डेजले दोस्रो मिनेटमा गोल गरेपछि जिरोनाले अग्रता बनाएको थियो। १४ औं मिनेटमा अल्भोरो मोराटाले गोल गरेपछि खेल बराबरीमा आएको थियो।
२६ औं मिनेटमा सेभिओले अर्को गोल गरेपछि जिरोनाले पुनः २–१ को अग्रता बनायो। ३९ औं मिनेटमा ब्लाइन्डले गोल गरेपछि जिरोनाले पाहुना टोली एथ्लेटिकोमाथि ३–१ को अग्रता बनाएको थियो।
तर १४ औं मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए। लगत्तै ५४ औं मिनेटमा अर्को गोल गर्दै मोराटाले ह्याट्रिक गरेपछि खेल ३–३ को बराबरीमा आएको थियो।
निर्धारित ९० मिनेटसम्म खेल ३–३ को बराबरीमा रोकिएको थियो। तर त्यसपछि थप गरिएको अतिरिक्त समयमा इभान मार्टिनले गोल गरेपछि जिरोनाले ४–३ को जित निकाल्यो।
यता अल्भारो मोराटाले ह्याट्रिक गरे पनि एथ्लेटिको मड्रिडलाई भने जिताउन सकेनन्। जितसँगै १९ खेलबाट ४८ अंकका साथ जिरोना लिगको दोस्रो स्थानमा छ । समान खेल र समान अंकका साथ गोल अन्तरको आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ। एथ्लेटिको मड्रिड भने १९ खेलबाट ३९ अंकका साथ तेस्रो स्थानमा छ।
ला–लिगा अन्तर्गत भएका अन्य खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोल अन्तरले हरायो। ग्रानाडाले काडिजमाथि २–० को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।