काठमाडौं– घरेलु मैदानमै वेस्ट हाम युनाइटेडसँग पराजित भएपछि आर्सनलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनल वेस्ट हामसँग २–० गोल अन्तरले पराजित भयो।
वेस्ट हामले खेलको १३औं मिनेटबाटै आर्सनलमाथि अग्रता बनाउन सुरु गरेको थियो। १३औं मिनेटमा बोवेनको पासमा सुसेकले गोल गर्दै वेस्ट हामलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५५औं मिनेटमा वार्ड–प्रोजको पासमा माभ्रोपानोसले गोल गर्दै वेस्ट हामले अग्रता दोब्बर बनायो।
९० मिनेटपछिको अतिरिक्त समयमा वेस्ट हामले अग्रता देब्बर बनाउने मौका पाएको थियो। ९६औं मिनेटमा वेस्ट हामले पाएको पेनाल्टीमा ब्रेन्म्हा गोल गर्न चुक्दा वेस्ट हामले २–० को अन्तरमा जित निकाल्यो।
वेस्ट हामसँग हारेसँगै आर्सनलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो। हारका बाबजुत १९ खेलबाट ४२ अंकसहित आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा छ।
समान खेलबाट ४२ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। वेस्ट हाम भने ३३ अंकसहित छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।