काठमाडौं– क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। सिटीले उक्त कपको उपाधि पहिलोपटक जितेको हो।
साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा शुक्रबार भएको फाइनलमा ब्राजिलको फ्लुमिनेन्सलाई ४-० ले हराउँदै सिटीले विश्वकप जितेको हो।
प्रिमियर लिग टोलीलाई उपाधि दिलाएका लागि जुलियन अल्वारेजले २ र फिल फोडेनले १ गोल गरे। अर्को गोल टोलीले उपहारमा पायो।
अल्वारेजले खेल सुरु भएको ४० सेकेन्डमा गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए। सुरुवातबाटै हाबी भएको सिटीले २७ औं मिनेटमा अग्रता दोब्बर बनायो। निनोको आत्मघाती गोल सिटीका लागि उपहार बन्यो।
७२ औं मिनेटमा सिटीका लागि फोडेनले गोल गरे। अल्वारेजको पास फोडेनले गोल गरेका हुन्। अल्वारेजले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको फराकिलो जित पक्का भयो। ११ वर्षमा युरोपेली क्लबले मात्रै क्लब विश्वकप जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।