काठमाडौं– नेपालमै लम्पिस्किनविरुद्धको भ्याक्सिन उत्पादन गरिने भएको छ। मंगलबार अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई)सँग कृषि तथा पशुपक्षी विकास मन्त्रालयले काठमाडौंको सोल्टी होटलमा लम्पिस्किन नियन्त्रण गर्न भ्याक्सिन उत्पादन गर्नेबारे छलफल कार्यक्रम आयोजना गरेको छ।
बुधबारसम्म रहने उक्त कार्यक्रमले नेपालमा लम्पिस्किन रोग नियन्त्रण गर्न सघाउ पुग्ने पशुस्वास्थ्य महाशाखा प्रमुख सम्झनाकुमारी काफ्लेले बताइन्।
‘नेपालको भौगोलिक विभिधताअनुसार भ्याक्सिनको उपलब्धताको अवस्था हेरेर कसरी छिटो नियन्त्रण गर्नेबारे र नेपालमा नै लम्पिस्किनविरुद्धको भ्याक्सिन उत्पादन गर्नेबारे छलफल गर्छौं। भ्याक्सिन उत्पादन गर्नलाई त्यसको बीउ चाहिन्छ,’ काफ्लेले भनिन्, ‘भ्याक्सिन उत्पादन गर्न आवश्यक तत्व बीउ हो। यो बाहिरी मुलुकमा उत्पादन गरिएको छ। नेपाल आफैंले उत्पादन गर्ने क्षमता छैन। तर भ्याक्सिन बनाउने क्षमता भने छ। नेपालमै भ्याक्सिन बनाउने प्रक्रिया चलिरहेको छ।’
यस्तै कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेलले अहिले लम्पिस्किन रोग नफैलिएको र फैलने सिजन आउँदै गरेको हुँदा कसरी तत्काल समस्या समाधान गर्ने पूर्व तयारी गर्न यो छलफलले सघाउ पुग्ने बताए। ‘यस कार्यक्रममा भ्याक्सिन उत्पादकहरु तथा निर्यातकर्ता पनि आउनु भएको छ। विज्ञहरु पनि आउनु भएको छ। नेपालमा माहामारीका रुपमा फैलिन नदिन के गर्ने भन्ने निचोड आउँछ,’ उनले भने।
लम्पिस्किनबाट अहिलेसम्म करिब ६० हजारको संख्यामा पशुधनको क्षति भएको उनले बताए। लम्पिस्किनका कारण आगामी दिनमा पशुधनको क्षति बेहोर्न नपर्ने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।