काठमाडौं– अर्जेन्टिना तथा इन्टर मियामीका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे र नर्वे तथा म्यानचेस्टर सिटीका अर्लिङ हालाण्ड फिफा वर्ष खेलाडीको अन्तिम मनोनयनमा परेका छन्।
हरेक वर्ष प्रदान गरिने फिफा वर्ष खेलाडीको अन्तिम सूचीमा यसपटक ३ जना स्ट्राइकर परेका हुन्। मेसीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए भने एमबाप्पेले फ्रान्सलाई फाइनलसम्म पुर्याएका थिए। हालाण्डले भने सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपसहित ट्रिबेल उपाधि जिताएका थिए।
यसअघि मनोनयनमा परेका १२ जनाको लिस्टबाट उत्कृष्ट ३ जनाको नाम सार्वजनिक गरिएको हो। सन् २०२३ को डिसेम्बर १९ देखि २०२३ को अगस्ट २० तारिखसम्म गरेको प्रदर्शनका आधारमा पुरुषतर्फको विजेता टुंगो लाग्ने छ। त्यतिबेला मेसी र एमबाप्पे दुबैले विश्वकपमा उक्त सफलता हाल पारेका थिएनन्।
अन्तिम परेकाहरुलाई राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकले भोट गरी विजेताको टुंगो लगाउनेछन्। मनोनयनमा परेकामध्ये मेसीले ७ पटक फिफा वर्ष खेलाडी जितिसकेका छन् भने एमबाप्पे र हालान्डले अहिलेसम्म यो अवार्ड जित्न सकेका छैनन्।
त्यसैगरी महिलातर्फको पनि अन्तिम ३ जनाको नाम सार्वजनिक भएको छ। जसमा स्पेन तथा बार्सिलोनाका खेलाडी एतेना बोनमती, कोलम्बिया तथा रियल मड्रिडका खेलाडी लिन्डा क्यासिडो र स्पेन तथा पचुकाका खेलाडी जेनी हेर्मासो परेका छन्।
महिलातर्फ भने सन् २०२२ को अगस्ट १ देखि सन् २०२३ को अगस्ट २० सम्मको प्रदर्शनलाई आधार मानिने छ। जसमा पुरुषकै तर्फको जस्तो राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक, पत्रकार र समर्थकले भोट गरी विजेताको टुंगो लगाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।