काठमाडौं– रियल मड्रिड स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाली समयानुसार शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोल अन्तरले हराउँदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।
मड्रिडको जितमा डियाच र रोड्रिगोले १–१ गोल गरे। खेलको २६औं मिनेटमा टोनी क्रुसको पासमा डियाचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५७औं मिनेटमा रोड्रिगोले गोल गरेपछि मड्रिडले २–० को जित निकाल्यो।
जितसँगै मड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ। मड्रिडको १५ खेलबाट ३८ अंक छ। समान खेल खेलेको गिरोना समान ३८ अंककै साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ।
शनिबार राति नै भएको खेलमा गिरोनाले भ्यालेन्सियामाथि २–१ को कमब्याक जित निकालेको थियो। ला–लिगाको अन्य खेलमा एथ्लेटिक बिल्बाओले रायो भाल्कोनालाई ४–० गोल अन्तरले हरायो।
ओसासुना र रियल सोसिडाडले भने १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।