काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ।
दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलअन्तरले पराजित गर्यो। विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भयो। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन्।
बिहीबारको खेलमा विजयी भएसँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ। समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो। त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो।
लिगअन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।