काठमाडौं- स्पेनिस ला-लिगा क्लब बार्सिलोना तीन वर्षपछि यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। नेपाली समयअनुसार मंगलबार राति भएको खेलमा पोर्चुगिज क्लब पोर्तोमाथि २-१ को कमब्याक जित निकाल्दै बार्सिलोना नकआउट चरणमा प्रवेश गरेको हो।
खेलको ३०औं मिनेटमा कोसा पेपेले गोल गर्दै पाहुना टोली पोर्तोलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको २ मिनेटपछि ३२औं मिनेटमा पेड्रीको पासमा जाओ कान्सेलोले गोल गरेपछि खेल १-१ को बराबरीमा आयो।
दोस्रो हाफमा बार्सिलोनाले थप १ गोल गरेपछि नतिजा आफ्नो पक्षमा पार्यो। दोस्रो हाफको ५७औं मिनेटमा कान्सेलोकै पासमा जाओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
बाँकी समय दुवै पक्षबाट गोल नभएपछि बार्सिलोनाले २-१ को नतिजा निकाल्यो। जितसँगै समूह ‘एच’मा पाँच खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहँदै तीन वर्षपछि बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ।
यही समूहका पोर्तो र शाख्तर डोनेस्क समान ९ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। रोयल एन्टवर्प भने अंकविहीन हुँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।