काठमाडौं– काडिजलाई हराउँदै रियल मड्रिड स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाली समयानुसार आइतबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोल अन्तरले हरायो।
रियलको जितमा रोड्रिगोले २ र बेलिङ्घमले १ गोल गरे। खेलको १४औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा घरेलु टोली काडिज १–० गोल अन्तरले पछि परेको थियो।
दोस्रो हाफको ६४औं मिनेटमा लुका मोड्रिचको पासमा पुनः रोड्रिगोले गोल गर्दै अग्रता दोब्बर बनाए। ७४औं मिनेटमा रोड्रिगोको पासमा बेलिङ्घमले गोल गरेपछि रियलले ३–० को जित निकाल्यो।
जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ। १५ खेलबाट ३५ अंकका साथ रियल शीर्ष स्थानमा छ। १ खेल कम खेलेको गिरोना ३४ अंकसहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।